मंसिर १४, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले समग्र शिक्षा प्रणालीमा समस्याहरू विद्यमान रहेको बताएका छन् । आज निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले निजी विद्यालयले प्रदान गरेको शिक्षामा मात्र नभइ समग्र सार्वजनिक शिक्षा प्रणालीमा पनि समस्याहरू विद्यमान रहेको बताएका हुन् ।
देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै शिक्षामा समता, समावेशिता र सामाजिक न्यायको सुनिश्चितता गर्ने प्रयास गरिएको उनको भनाइ छ । उनले संघीय शिक्षा ऐन निर्माणमा ढिलाइ हुँदा प्रदेश र स्थानीय सरकारसम्म त्यसले समस्या ल्याएको बताए । स्थानीय तहले शिक्षाको व्यवस्थापनका लागि आवश्यक ज्ञान,स्रोतसाधन र क्षमता नपाएको उनको भनाइ छ ।