मंसिर २६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई बुधबार पोखरा फर्काइँदैछ । हिजो दिनभर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा रविसँग बयान लिएको छ । सरकारी वकिलको रोहवरमा बिहान १० बजे नै बयान लिन थालेको थियो। अपराह्न साढे २ बजेसम्म बयान चलेको थियो ।
वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज लगिएको थियो। पोखराबाट काठमाडौँ र काठमाडौँबाट सिमरासम्म उनलाई हवाईमार्गबाट लगिएको थियो ।
अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको छ । लामिछानेमाथि ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ ।