पौष ३, काठमाण्डौँ । उप–प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एशिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्दै अर्थमन्त्री पौडेलले एशिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पूँजीको बिस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदैअर्थमन्त्री पौडेलले विकासका लागि निजी पूँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गरेका हुन्। त्यसका लागि एशिया र प्रशान्त क्षेत्रका देशबीच सहकार्य गर्न सकिने अर्थमन्त्री पौडेलको भनाइ थियो ।
एशिया र प्रशान्त क्षेत्रमा वित्तीय पूँजी लगायत धेरै सम्भावनाहरू रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यस क्षेत्रमा नीति, नियमहरू र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरिने प्रयासहरूलाई सामूहिक रुपमा अघि बढाउनु पर्ने बताए ।
आन्तरिक राजश्व परिचालन, नवीन वित्तीय उपकरणको उपयोग एवम् परिचालन, सार्वजनिक ऋण व्यवस्थापन, साझेदारी निर्माण र दिगो विकास लक्ष्यका लागि वित्तीय स्रोतको व्यवस्थापनलगायतका विषयमा परामर्श बैठक निकै फलदायी भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।