पुस ४,काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमान समयमा कर्जा असुली बैंकिङ क्षेत्रका लागि चुनौतिपूर्ण बनेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्र बैंकले वित्तीय प्रणालीलाई सुरक्षित राख्ने काम गरिरहेको बताए । विभिन्न अप्ठ्यारो अवस्थामा पनि नेपालको वित्तीय क्षेत्रलाई सुरक्षित राख्न सकिएको समेत उनले सुनाए । विश्वमा आएको मन्दी, महाभूकम्प, कोरोना महामारी लगायतबाट नेपालको वित्तीय प्रणालीलाई सुरक्षित राख्न बैंकिङ क्षेत्रले धेरै नै राम्रो काम गरेको उनले बताए । सन् २०२५ मा अनिश्चितता नै अनिश्चितताको भूमरीमा संसार पर्न सक्ने उनले औंल्याए । उनले भने, ‘के छ भन्दा अनिश्चिता छ । अनिश्चितता नै निश्चत छ । यस्तो परिस्थितिमा अहिले संसार गुज्रिरहेको छ ।’
संसारभर नै अनिश्चिता नै अनिश्चितता भएको बताउँदै ती चुनौतिहरूको सामना बैंकिङ क्षेत्रले गर्नुपर्ने गभर्नर अधिकारीको भनाइ छ । त्यसमा पनि बैंकिङ क्षेत्र अति नै संवेदनशील रहेको उनले बताए । गभर्नर अधिकारीले अहिले निष्क्रिय कर्जा बढिरहँदा समस्या सिर्जना भएको बताए । यस चुनौतिलाई सामना गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । बैंकरहरूका लागि अहिले कर्जा असुली निकै चुनौतिपूर्ण रहेको उनले बताए । त्यस्तै साइवर सुरक्षामा पनि अहिले चुनौति थपिँदै गएको गभर्नर अधिकारीको भनाइ छ । यस्तै गुनासो सुनुवाईमा बैंकहरू सशक्त अवस्थामा रहेको उनले बताए ।
बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसीले अहिले नेपालको बैंकिङ क्षेत्र इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको बताएका छन् । कर्जा प्रवाह वृद्धि निकै न्यून भएको, कर्जाको माग नभइरहेको लगायतका कारणसहित केसीले नेपालको बैंकिङ क्षेत्र इतिहासकै चुनौतिपूर्ण अवस्थामा गुज्रिएको बताए । बुधबार बैंकर्स संघले गरेको कार्यक्रमलाई निवर्तमान अध्यक्षकका रुपमा सम्बोधन गर्दै केसीले अर्थतन्त्रमा अहिले अप्ठ्यारो परिस्थिति सिर्जना भएकाले बैंकलाई जोखिम भएको बताए । उनले भने,‘अहिले ७ खर्ब हाराहारी तरलता रहेको छ । यसको व्यवस्थापन गर्न नसक्दा भोलिका दिनमा अझै बढी जोखिम सिर्जना हुने चुनौति छ ।’
उनले अहिले बैंकको खराब कर्जाको अवस्था निकै बढेको भन्दै यो चुनौतिपूर्ण रहेको बताए । उनले भने,‘तर नेट एनपीए भने १ प्रतिशत हाराहारीमा रहेको छ । समस्याबाट सजग हुनुपर्ने अवस्था छ ।’ मुलुकको अर्थतन्त्र अनिश्चितताको अवस्थामा रहेकाले पछिल्लो समय बैंकका कर्मचारी छाडेर विदेश जाने क्रम बढिरहेको सुनाए । विभिन्न कारणले गर्दा बैंकिङ क्षेत्रको रिटर्न अन इक्विटी घटिरहेको उनले बताए । साथै बेलाबखत बैंकका कर्मचारी माथि हुने धरपकडलाई पनि सररकारले नियन्त्रण गर्न नसक्दा यस क्षेत्रको मनोबल कमजोर भइरहेको उनको भनाइ छ ।
विभिन्न चुनौतिका बावजुद दक्षिण एसियामै सबैभन्दा राम्रो बैंकिङ क्षेत्रमध्ये नेपालको अगाडि रहेको उनले बताए । केन्द्रीय बैंकको सुझबुझपूर्ण नियामकीय कदमका कारण बाह्य क्षेत्र बलियो अवस्थामा रहेको उनको भनाइ छ । यस्तै संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले अहिले सबैतिर रहेको समस्यालाई चिरेर नेपालको बैंकिङ क्षेत्रले काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले मुलुकको कन्ट्री रेटिङ सकारात्मक आएकाले पनि मनोबल बढाउन सहयोग पुग्ने बताए । कार्यक्रममा बैंकर तथा पूर्व बैंकरहरूले अर्थतन्त्रको शिथिलतालाई चिर्नका लागि सरकार लाग्नुपर्नेमा जोड दिए । पूबै बैंकर किरणकुमार श्रेष्ठले केन्द्रीय बैंकले मात्रै अर्थतन्त्र सुधार्न नसक्ने भन्दै सरकार लाग्नुपर्ने बताए ।