|मतदान दाङ, १३ पुसः नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि ३२ बर्षे उमेर हदसम्बन्धी निर्वाचनमा दाङ जिल्लाको घोराही केन्द्रमा शनिबार मतदान गरिँदै । दाङ जिल्लामा जम्मा मतदाता संख्या ५१ जना रहेको निर्वाचन अधिकृत विश्वराज आचार्यले जानकारी दिनुभयो । तस्बिरः कुलदीप न्यौपाने÷रासस
पाैष १३, काठमाण्डाैँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर मतदान भइरहेको छ । अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने कि नतोक्ने भन्ने विषयमा निर्वाचनबाट छिनोफानो गर्न लागेको हो ।
अखिल क्रान्तिकारीको संगठनात्मक संरचना अनुसार भौगोलिक र गैरभौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा मतदान जारी छ । बिहान १० बजेबाट सुरु भएको मतदान बेलुका ४ बजेसम्म चल्नेछ । संगठनको इतिहासमा पहिलो पटक विधान उपर मतदान भएको नेतृ पञ्चा सिंहले बताइन् । उनले भनिन्, ‘प्रतिनिधिहरु आफ्नो विवेक प्रयोग गर्न सक्षम र योग्य भएकै कारण अखिल क्रान्तिकारीको नीति र नेतृत्वको फैसला गर्ने अधिकार छ प्राप्त गरेको हो ।’
दवाव र प्रभावमा नपरी निर्देशित जनवाद होइन उच्च जनवाद प्रयोग गरेर संगठनले प्रदान गरेको यो ऐतिहासिक अवसरको सहि सदुपयोग गर्न सम्पुर्ण प्रतिनिधिलाई आग्रह पनि गरिन् । उमेर हदको टुंगो लागिसकेपछि यही १७ गते नेतृत्व चयनका लागि भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरमा मतदान हुनेछ ।