पौष १३, काठमाण्डौँ । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए।
‘पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ, प्रमुख आचार्यले भने, पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।’ यससँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्नका लागि आवश्यक तयारीसमेत भइरहेको उनले जानकारी दिए ।
उनले भने, ‘जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने छ ।’
सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । तर विभिन्न कारणले केही दिनअघिमात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए ।
यस्तै पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्र्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्र्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ ।
परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलकोसमेत आयात हुने जनाएको छ ।