साफ महिला च्याम्पियनसिप फुटबल: भारतको वर्चस्व तोड्दै उपाधि जित्ने यस्तो छ तयारी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र ८, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत ८, काठमाडौँ । विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि छिनोफानो शुक्रबार हुँदैछ ।

उपाधिका लागि चिरपरिचित प्रतिस्पर्धी नेपाल र भारत भिड्दैछन् ।

सेमिफाइनलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपाल र बंगलादेशलाई ४–० ले नै हराउँदै भारत फाइनलमा पुगेको हो ।

नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुँदैछ । यसअघिका तीनओटै भिडन्तमा नेपाल फाइनलमा पराजित भएको थियो । एकपटक सेमिफाइनलमा नै भारतले नेपाललाई रोकेको थियो ।

खेलअघिको पत्रकार सम्मेलनमा बिहीबार बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले दक्षिण एसियामा भारत बलियो भएपनि योपटकको साफमा भारतको वर्चस्व तोड्दै उपाधि नेपालले जित्ने दाबी गरेका छन् ।

यो टिमले यसअघि भारतसँग दुई खेल खेलेकामा नेपालले एक खेल जितेको छ भने एक खेलमा बराबरी गरेको छ ।

प्रशिक्षक खड्काले टिम सन्तुलित रहेकाले भारतलाई पराजित गरी उपाधि जित्न सक्षम रहेको बताए ।

उता, भारतीय मुख्य प्रशिक्षक म्यामोल रकीले सुखद् सुरुआत गरेकाले अन्त्य पनि सुखद् नै गर्न चाहेको बताइन् ।

भारतले यसअघिका सबै संस्करण जितेको छ ।

महिला फुटबलमा अहिलेसम्म नेपालले भारतसँग १० खेल खेलेको छ । जसमा नेपालले एक खेल जित्दा दुई बराबरी गरेको छ भने सात खेल हारेको छ ।

नेपालले भारतसँग साफ च्याम्पियसिपमा चार खेल खेल्दा सबैमा हार व्यहोरेको थियो ।

पहिलोपटक घरेलु मैदानमा साफ च्याम्पियनसिप खेलिरहेको नेपाललाई घरेलु दर्शकको साथ रहने छ ।

खेल शुक्रबार दिउँसो ३ बजे सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस