अपराजित एपीएफ सातौं पटक बन्यो महिला राष्ट्रिय क्रिकेट कप च्याम्पियन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ माघ १२, शनिबार (२ महिना अघि)
  • ८६ पटक पढिएको
अपराजित एपीएफ सातौं पटक बन्यो महिला राष्ट्रिय क्रिकेट कप च्याम्पियन

माघ १२, काठमाण्डौँ ।  प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एपीएफले जितेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्य एपीएफले ४३ बल बाँकी छँदै एक विकेट गुमाएर पूरा गरेको हो ।

उसका लागि ममता चौधरीले सर्वाधिक ४३ र इन्दु बर्माले १८ रनको योगदान गरिन्। यसअघि प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेश ११ बल बाँकी छँदै ६७ रनमा समेटिएको थियो । उसका लागि मनिषा बोहराले आउट नभइ सर्वाधिक १८ रन बनाइन् भने कप्तान बिन्दु रावलले १७ रनको योगदान गरिन् । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन खेलाडी शून्य र तीन खेलाडी एक रनमा आउट भएका थिए । सुदूरपश्चिमलाई सस्तैमा समेट्न एपीएफकी कविता जोशीले ३, सबनम राई र इन्दु बर्माले समान २÷२ विकेट लिँदा करुणा भण्डारीले एक विकेट खसालिन् ।

सुपर फोरको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३० रनले र एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । प्रतियोगिताको उपाधि विजेता एपीएफले नगद ५ लाख रुपैयाँ र उपविजेता सुदूरपश्चिम प्रदेशले ३ लाख पुरस्कार पाएका छन् । एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले महिला पीएम कप सातौं पटक जितेको हो । इन्दु बर्माको कप्तानीमा एपीएफले पहिलो पटक उपाधि जितेको हो । यसअघि एपीएफले सन् २०१६ देखि सन् २०१९ सम्म लगातार तथा त्यसपछि २०२१ र २०२३/२४ मा उपाधि जितेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस