माघ १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
महाशाखाले केही दिनयता कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको उल्लेख गरेको छ । मधेशको सप्तरी तथा कोशीका तराई भूभाग झापा, मोरङ र सुनसरीमा केही दिनयता मन्द शीतलहर चलेको छ ।
आज दिउसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।