माघ १४, काठमाडौँ । आज सोमबार बुध, शुक्र, मंगल, वृहस्पति तथा शनिग्रह र २ वटा मधुरा ग्रहका रूपमा चिनिएका अरुण र वरुण एकसाथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिन्छ । त्यो अवलोकन गर्ने समय यो सातादेखि अन्तिम सातासम्म देख्न सकिने छ । सुरक्षाकर्मीहरू कवाज खेल्न पंक्तिबद्ध भएजस्तै माघ महिनाभरि हाम्रो सौर्यमण्डलका महत्वपूर्ण ग्रहहरू पंक्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेको स्पष्ट रूपमा खाली आँखाले देख्न सकिन्छ ।
उत्तरी गोलाद्र्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिने बीपी कोइराला प्लानेटोयरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक डा। सनतकुमार शर्माले जानकारी दिए ।
माघ दोस्रो हप्तादेखि चौथो हप्ताको समयमा हाम्रो आकाशमा शनि, शुक्र वृहस्पति र मंगलग्रहलाई लामबद्ध भएर एउटै पंक्तिमा आकाशमा नृत्य गरिरहेको प्रतीत हुने उनको भनाइ छ । चारवटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) बुध, शुक्र, मंगल, वृहस्पति तथा शनिसहित २ वटा मधुरा ग्रहहरू अरुण र वरुण एकसाथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिन्छ ।
त्यो दृश्य अवलोकन गर्न समितिले आज सोमबार साँझ २ घण्टा अवलोकन गर्ने व्यवस्था गरेको छ । साँझ ६ देखि ८ बजेसम्म संग्रहालय कीर्तिपुरमा टेलिस्कोपको सहायताले यी ग्रहलाई सर्वसाधारण सबैलाई निःशुल्क अवलोकन गराउने व्यवस्था गरेको कार्यकारी निर्देशक शर्माले बताए ।