माघ १६, काठमाडौँ । सरकारले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारेको नयाँ विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ ।
गृहमन्त्री रमेश लेखकले मंगलबार विधेयक प्रतिनिधिसभामा दर्ता गराएका हुन् । यसअघि प्रहरीमा ३० वर्षे सेवा अवधि थियो । विधेयकमा सेवा अवधि हटाइएको छ ।
प्रहरीमा पहिले ३२ र पछि ३० वर्षे सेवा अवधि लागू गरिएको थियो । अब उमेर हद र पदावधि अनुसार प्रहरीमा तल्लोदेखि माथिल्लो दर्जासम्म अवकाशको प्रावधान बनाइने भएको छ । प्रस्तावित विधेयक अनुसार प्रहरी निरीक्षक इन्स्पेक्टर पदका लागि आवेदन दिन सकिने उमेरसमेत बढाइएको छ । अहिले इन्स्पेक्टर पदका लागि २० देखि २५ वर्ष उमेर तोकिएकोमा नयाँ विधेयकले २१ देखि २७ वर्ष पुर्याउने व्यवस्था गरेको छ ।
त्यस्तै, असई पदका लागि उमेर हद १८ देखि २४ वर्षबाट बढाएर १८ देखि २५ वर्ष पुर्याइएको छ भने प्रहरी जवान पदमा १८ देखि २३ वर्षको उमेर तोकिएको छ ।