वसन्त ऋतु : पर्यटकको चहल पहल बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १०, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत १०, काठमाडौँ । वसन्त ऋतुको आगमनसँगै पर्यटकको चहलपहल बढेको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मानिने यो याममा साहसिक पर्यटनका गतिविधि बढी हुन्छन् । मुख्य पर्यटकीय मौसम भएकाले साहसिक पर्यटनका साथै हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् ।

त्यस्तै, नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि वसन्त ऋतु उपयुक्त मानिन्छ । यतिखेर धेरै सङ्ख्यामा आरोही पर्वतारोहणका लागि नेपाल आएका छन् । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरुको रोजाइमा पर्छ । औषत आरोही सगरमाथा नै रोज्छन् ।

अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यता अवलोकनका लागि विश्वभरका पर्यटक यतिखेर नेपालका विभिन्न पर्यटकीय गन्तव्य चुम्ने तर्खरमा छन् । भू–धरातलीय स्वरुप, हरिया डाँडाकाँडा, मनमोहक झरना तथा उत्तरतर्फ चाँदीका घेराझैँ टल्किएका हिमालले पदयात्री पर्यटकको आकर्षण बढाएको छ ।

पर्यटकीय मौसम शुरु भएसँगै धेरै आरोहीको चहलपहल बढेको ट्रेकिङ् एजेन्सीज एशोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष नवराज दाहालले बताए। उनले पर्यटन उद्योगलाई थप गति दिन सरकार र निजी क्षेत्रले राष्ट्रिय सङ्कल्पका साथ रणनीतिक योजना ल्याइनुपर्ने खाँचो औँल्याए । टानका अनुसार पदयात्रा पर्यटनका लागि युरोपका विभिन्न मुलुकबाट बढी सङ्ख्यामा पर्यटक आएका छन् ।

नेपाल पर्वतारोहण सङ्घ ९एनएमए०का महासचिव कुलबहादुर गुरुङले अनुकूल मौसम भएकाले वसन्त ऋतुमा साहसिक पर्यटकीय गतिविधि बढ्ने बताए । उनले विगतको तुलनामा यस वर्षको वसन्त ऋतुमा मौसमको अनुकूलताले आरोहण राम्रो हुने विश्वास व्यक्त गरे।

पर्यटन विभागका अनुसार शुक्रबारसम्म १५ भन्दा बढी आरोहण समूहले सगरमाथालगायत हिमाल आरोहण अनुमतिका लागि निवेदन दिएका छन् । वैशाखसम्म आरोही दलले दर्ता गराउने भएकाले यसपटक आरोही सङ्ख्या बढ्ने विभागको अनुमान छ ।

विभागका निर्देशक मीरा आचार्यले पर्वतारोहणका लागि मुख्य याम भएकाले अहिले धमाधम आरोही आउन थालेका बताए । आरोहणका प्राप्त निवेदनमध्ये आइतबारदेखि आरोहण अनुमति दिन शुरु गरिने र दैनिक पाँचदेखि सात समूहलाई अनुमति दिइने निर्देशक आचार्यको भनाइ छ ।

विभागकै पर्वतारोहण शाखाको विवरणमा सन् २०१८ को यही मौसम ९वसन्त ऋतु० मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ, अझै आरोहण योग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ ।

एनएमएका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रूपमा मात्रै पाँच हजारको हाराहारीमा आरोहण गरेका छन् । सबैभन्दा बढी आपा शेर्पाले २१ पटक र कामीरिता शेर्पाले २२ पटक सगरमाथा आरोहणको रेकर्ड छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् ९नाट्टा०का प्रथम उपाध्यक्ष अच्युत शर्मा गुरागाईंले पर्यटकीय याम शुरु भएसँगै उत्साहजनक रुपमा पर्यटकको आवागमन बढेको बताए । ठमेल पर्यटन विकास परिषद्का महासचिव भवि शर्माले मुख्य पर्यटकीय सिजन शुरु भएसँगै ठमेल, वसन्तपुर, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बाक्लिएको बताए । “स्वभाविक रुपले यो सिजनमा धेरै पर्यटक आउँछन् अहिले ठमेलका सडक गल्लीमा पर्यटकको भीड लागेको छ”, उनले भने ।

नेपालका चर्चित पदमार्ग लाङ्टाङ, मनास्लु, अन्नपूर्ण, खुम्बुलगायत पर्छन् । अन्नपूर्ण सर्किट ट्रेकिङका लागि विश्वमै प्रसिद्ध मानिन्छ । यो याममा अन्नपूर्ण, खुम्बु, लाङ्टाङ र मनास्लु क्षेत्रमा धेरै सङ्ख्यामा पर्यटक जान्छन् । पर्यटन विभागका अनुसार तीन हजार ५४५ ट्राभल र दुई हजार ६७५ टे«किङ कम्पनी दर्ता छन् ।

होटल एशोसिएसन अफ नेपाल ९हान० का अनुसार अहिले ६० प्रतिशतको हाराहारीमा होटल बुकिङ भएका छन् । सामान्य अवस्थामा यो याममा ८० प्रतिशत होटल बुकिङ हुने गरेका थिए । हानका महासचिव विनय शाहका अनुसार अहिले पदयात्रा र हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा पर्यटक आएका छन् । खासगरी पाँचतारे र पर्यटकस्तरीय होटलमा पर्यटकको चाप छ ।

हानका अनुसार मुलुकभर सरकारी मापदण्ड पूरा गरेका करीब एक हजार पर्यटकस्तरीय होटल छन् । पछिल्लो समय थपिएका तीनसहित अहिले १३ पाँचतारे होटल सञ्चालनमा छन् । नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुअरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औषत बसाइँ १३ दिन र दैनिक खर्च ४५ डलर छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान चार प्रतिशत छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस