चैत्र १०,काठमाडौँ । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर उक्त केन्द्र स्थापना गर्न लागेको हो ।
नेपालमा आएका पर्यटकलाई उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रका बारेमा सूचना दिने उद्देश्यका साथ स्थापना हुन लागेको केन्द्रको कार्यालय स्थापनाका लागि काठमाडौँ महानगरपालिका–२६ ले भवन उपलब्ध गराएको छ ।
ठमेलस्थित पुरानो वडा कार्यालयको भवनमा स्थापना हुन लागेको सूचना केन्द्र सञ्चालनका लागि काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारी र नेपाल भ्रमण वर्षका संयोजक सुरज वैद्यबीच आज सम्झौतासमेत भएको छ ।
पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक अमृत बस्नेतले ठमेललगायत उपत्यकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा पर्यटकलाई सूचना दिनुका साथै पर्यटकलाई पर्ने समस्या समाधानका लागि उक्त केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । “उक्त केन्द्रमार्फत ठमेलमा घुम्न आउने पर्यटकलाई समेत सुरक्षा प्रदान गर्न सकिन्छ”, उनले भने । उक्त केन्द्रमा पर्यटक प्रहरी रहनेछन् ।