चन्द्र ढकालको प्रष्टोक्ती:‘पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्दैन’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ २६, शनिबार (२ महिना अघि)
  • ११९ पटक पढिएको
चन्द्र ढकालको प्रष्टोक्ती:‘पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्दैन’

माघ २६,काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पाथीभरा मन्दिरसम्म पुग्न निर्माण गर्न लागिएको केबलकारले पहिचानको प्रवर्द्धन गर्ने बताएका छन् । पाथिभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका ढकालले शनिबार पत्रकार सम्मेलन आयोजना गरी पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने दुस्प्रचार गरिएको भन्दै खण्डन गरेका छन् ।

उनले वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने एक रुख बराबर २५ रुखका दरले वृक्षरोपण गरिने स्पष्ट पारेका छन् । त्यसरी रोपिएका रुखलाई पाँच वर्षसम्म आयोजनाले नै स्याहार तथा संरक्षण गर्ने र सरकारलाई हस्तान्तरण गर्ने उनको भनाइ छ ।

‘केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने छ । यी आधारभूत आवश्यकतका संरचनाबाहेक यहाँ अरु केही नबन्ने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर पर्दैन,’ उनले पत्रकार सम्मेलनमा भने, ‘केबलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारिरीक रुपमा अशक्त र उकालो ओरालो हिड्न नसक्नेहरूका लागि सहज हुनुका साथै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने छ । हिँडेर जान चाहनेहरूको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्‍याउने छैन । यसका साथै, स्वदेशी तथा विदेशी तीर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास छ ।’

विकासका काममा वादविवाद देखिनु राम्रो नभएको भन्दै उनले यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने बताएका छन् । यसले मुलुकमा लगानी भित्र्याउन निजी क्षेत्रले गरिरहेको पहललाई निरर्थक तुल्याएको उनको भनाइ छ ।

परियोजनामा हुने अवरोधले विश्वव्यापी रूपमै नकारात्मक सन्देश जाने चिन्ता व्यक्त गरेका ढकालले कुनै पनि बहानामा विकास निर्माणका काममा अवरोध नगर्न सबै सरोकारवालामा आग्रह गरेका छन् । उनले लामो मन्तव्यमार्फत् पाथीभरामा केबलकारको आवश्यकता दर्शाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस