३ फागुन, काठमाण्डौँ । मकवापुरमा ट्रकले अटोलाई ठक्कर दिँदा अटोमा सवार एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी ७:५० बजे मकवापुरको हेटौडा उपमहानगरपालिका-११ थानाभर्याङमा चितवन जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट अटोमा सवार रहेकी मनहरी गाउँपालिका-६ खयरघारीकी ३५ वर्षीया पुजा बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा शुक्रबार राति ९:२० बजे मृत्यु भएको हो ।
दुर्घटनामा अटो चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २५ वर्षीय राजु थिङ गम्भीर घाइते छन् । उनको टाउकोमा चोट लागेको छ ।
अटोमा पुजाकी ११ वर्षीय छोरा अमृत घिसिङ पनि सवार थिए । दुर्घटनामा उनी पनि घाइते छन्। उनको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइते दुवैको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । ट्रक, अटोसहित ट्रक चालक चितवनको राप्ती नगरपालिका-२ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।