शंकर पोखरेलको टिप्पणी : पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदैछ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन ७, बुधबार (२ महिना अघि)
  • ५९ पटक पढिएको
शंकर पोखरेलको टिप्पणी : पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदैछ

फागुन ७, काठमाण्डौँ ।  सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिंदै गरेको टिप्पणी गरेका छन् । एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भएपनि आजभोलि फेरि पञ्चायती भूत सलबलाउन थालेको बताएका छन् ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्व राजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे । ‘अचेल फेरि पञ्चायतकालीन भूत सलबलाउन थालेका छन्’, महासचिव पोखरेलले भने, ‘राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ ।’ राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

‘सामन्तवादी राज संस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ’, पोखरेलले कार्यकर्तालाई भने, ‘अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।’ महासचिव पोखरेलले पूर्ण क्रान्ति सफल बनाउन बलिया राजनीतिक शक्ति निर्माण गरिनुपर्ने बताएका छन् ।

आफूले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नु परेको भन्दै उनले आफू दल खोल्न निषेधको पक्षमा नभएको स्पष्ट पारे । ‘मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ । स्थायी सरकार बनाउन सकिन्छ भन्दै आएको छु’, महासचिव पोखरेलले भने, ‘दल खोल्न प्रतिबन्ध गर्ने होइन, थ्रेसहोल्डको प्रतिशत बढाउनु पर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस