फागुन ९,काठमाडौँ । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा जबरजस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान शुरू भएको छ । सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनामा पीडित परिवारले हिजो इलाका प्रहरी कार्यालय लहानमा चार वटा मुद्दामा आठ जनाविरुद्ध पूरक जाहेरी दर्ता गरेका थिए ।
कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा पूरक जाहेरी दर्तापछि त्यहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । उनले भने, यस घटनाका विषयमा हामीले शुरूदेखि नै अनुसन्धान गरिरहेका छौँ । पूरक जाहेरी आएपछि अब हामीलाई घटनाको सूक्ष्म अनुसन्धानका लागि झन् सहज भएको छ ।
गएको माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो ।
गएको माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले गएको मङ्गलवार प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेकामा समितिले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान शुरू गरेको थियो ।
रिङ्कुका बुबा बिजुलिया सदाय छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेको र विभिन्न पक्षबाट डर–त्रास दिने काम भइरहेको गुनासो गरे ।
यसैबीच घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न सिरहामा रहेको विभिन्न सामाजिक सङ्घ–संस्थाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा हिजो ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा पीडित परिवारलाई अझै निरन्तर धाक, धम्की, डर त्रास देखाउने काम भइरहेकाले तत्काल भयरहित वातावरणमा बस्ने वातावरण बनाउन आग्रह गरिएको छ ।
मृतकका परिवारलाई भेट्न पुगेका मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले दोषीलाई कानूनको कठघरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।