सुशासन र समृद्धि

सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन ११, आईतबार (१ महिना अघि)
  • १७ पटक पढिएको
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

फागुन ११,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटो छरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको ७४ औँ जन्मदिनका अवसरमा उनलाई शुभकामना दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताएका हुन् ।

“सेवा प्रवाहका कुराहरूमा सेवाग्राहीलाई सकारात्मकभावका साथ काम गरेर विकास निर्माण र सुशासन कायम गर्ने काममा मलाई मद्दत गरेर शुभकामनालाई सार्थक बनाउन व्यवहारिकरुपमा पनि त्यसअनुसारको काम गर्न म आग्रह गर्छु’’, प्रधानमन्त्री ओलीले भने, “हामी भ्रष्टाचार गर्दैनौँ र गर्न दिन्नौँ तर मुलुक सम्पत्ति शुद्धीकरणका सन्दर्भमा देश ग्रे लिष्टमा परेको छ । यसलाई हटाउनु छ। मलाई व्यक्तिगतरुपमा लाभ लिनुपर्ने कुरा केही छैन । हामी कमिसनका लागि ठेक्कापट्टाका काम गर्दैनौँ । विकास निर्माणका लागि ठेक्का लगाउँछौँ । यसमा सबैका साथ होस् भन्ने मेरो चाहना हो ।’’

सो अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू र राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो ।

यसैबिच, प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली आज एमाले केन्द्रीय कार्यालयले च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा सहभागी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस