‘धार्मिक आस्थामा क्षति नपुग्ने गरी पाथीभरा केबलकार निर्माण गर्नपर्छ’ : कांग्रेस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ फागुन १७, शनिबार (१ महिना अघि)
  • ७९ पटक पढिएको
‘धार्मिक आस्थामा क्षति नपुग्ने गरी पाथीभरा केबलकार निर्माण गर्नपर्छ’ : कांग्रेस

फागुन १७,काठमाडौँ । नेपाली कांग्रेसले पाथीभरा केबलकारको विषय छलफलबाट टुङ्गो लगाएर विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

हिजो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पाथीभरा मन्दिर आस्थाको केन्द्र भएकाले धार्मिक आस्थामा क्षति नपुग्ने गरी केबलकार निर्माण गर्नुपर्नेमा जोड दिइएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उहाँले केबलकार निर्माणले आस्थामाथि प्रहार गर्ने नभई श्रद्धालुहरूलाई सहज पहुँच पुर्‍याउने बताए।

यस्तै बैठकमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको पारदर्शिता सुनिश्चित गर्ने कुरामा पनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको प्रवक्ता महतले उल्लेख गरे । अनावश्यक झैझगडा हुन नदिने गरी शान्तिपूर्वक स्ववियु चुनाव सम्पन्न गर्नुपर्ने बारेमा छलफल भएको उनले बताए ।

बैठकमा संविधान संशोधनको विषयमा पनि छलफल भएको र त्यसमा सरकारको तर्फबाट कार्यदल बनेको र संशोधन आवश्यक भएका विषयमा पार्टीले धारणा बनाउने महतको भनाइ छ ।

यस्तै प्रमुख सचेतक श्याम घिमिरेले विधेयकबारे सैद्धान्तिक छलफल भएको र राजनीतिक दलसम्बन्धी विधेयकका कतिपय दफाहरू शून्यताको अवस्थामा रहेकाले त्यो विधेयकमा के गर्ने भन्नेबारेमा छलफल भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस