कोटीहोम हिंसामा परिणत ! पोखरा महानगरले भन्यो-यथास्थितिमा कोटीहोम हुन सक्दैन्

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ फागुन २३, शुक्रबार (१ महिना अघि)
  • १२६ पटक पढिएको
कोटीहोम हिंसामा परिणत ! पोखरा महानगरले भन्यो-यथास्थितिमा कोटीहोम हुन सक्दैन्

फागुन २३,पोखरा । पोखराको लेकसाइडमा हुने भनिएको कोटीहोमको विवादलाई लिएर शुक्रबार महाननगर प्रहरी र कोटीहोम आयोजकका बिचमा तनावपूर्ण स्थिति बनेको छ । मानव सेवा फाउन्डेसन नामक संस्थाले नेपालको पर्यटन राजधानी पोखराको लेकसाइड स्थित बाराहीघाट मैदानमा अनुमति विना प्रचलित कानुन विपरीत कोटीहोमका नाममा जबरजस्ती भूमिपूजन गर्न खोज्दा असहज परिस्थिति सृजना हुन पुगेको पोखरा महानगरपालिकाले बताएको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै महानगरले सम्मानित उच्च अदालत पोखरामा विचाराधीन अवस्थामा रहेको कोटीहोमसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै आएको बताउदै अटेर गरी कार्यक्रम अगाडि बढाउनु प्रचलित कानुन र स्थानीय सरकारको क्षेत्राधिकार माथिको उल्लघंन गरेको महानगरले बताएको छ । महानगरले धर्मको आवरणमा गुण्डागदी शैलीमा रड, लाठी र हतियार सहित पोखरा बाहिरका मानिसहरू समेत जम्मा गरी साङ्घातिक आक्रमणमा उत्रनु निन्दनीय कार्य रहेको बताएको छ।

पटक पटकको मुठभेडमा ११ जना नगर प्रहरी र आयोजकतर्फ १५ जना घाइते भए । केहीको अवस्था गम्भीर छ ।

यसो त ‘बालयोगेश्वर विजयकृष्ण मूर्तिले काठमाडौँको पशुपतिमा आयोजना गरेको कोटीहोम पनि विवादित र हिंसात्मक थियो । उनले आर्थिक हिनामिना गरेको आरोप लागेको छ ।

यस्तो छ विज्ञप्ती

प्रेस विज्ञप्ति मानव सेवा फाउन्डेसन नामक संस्थाले नेपालको पर्यटन राजधानी पोखराको लेकसाइड स्थित बाराहीघाट मैदानमा अनुमति विना प्रचलित कानुन विपरीत कोटीहोमका नाममा जबरजस्ती भूमिपूजन गर्न खोज्दा असहज परिस्थिति सृजना हुन पुगेको छ । सम्मानित उच्च अदालत पोखरामा विचाराधीन अवस्थामा रहेको कोटीहोमसँग सम्बन्धित सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै आइरहेको विषय विदितै छ । मिति २०८१ फागुन २३ गते महानगरपालिकाका जनप्रतिनिधिहरु कार्यक्रम स्थलमा उपस्थित भई कार्यक्रम स्थगन गर्न अनुरोध गर्दा अटेर गरी कार्यक्रम अगाडि बढाउनु प्रचलित कानुन र स्थानीय सरकारको क्षेत्राधिकार माथिको उल्लघंन हो ।

धर्मको आवरणमा गुण्डागदी शैलीमा रड, लाठी र हतियार सहित पोखरा बाहिरका मानिसहरू समेत जम्मा गरी साङ्घातिक आक्रमणमा उत्रनु निन्दनीय कार्य हो । जनप्रतिनिधिहरू माथि अशिष्ट, अमर्यादित, उत्तेजक र भ्रामक अभिव्यक्तिहरू दिएर सुरुवातबाटै धार्मिक सहिष्णुतालाई भड्‌काउने, धर्मका नाममा समाजलाई विभक्त तुल्याउने, सनातन आस्था प्रति घृणा फैलाउने, सदिऔंदेखि मिलेर शान्तिपूर्ण रूपमा बसिरहेको पोखराको एकता र शान्ति खलबल्याउने कृत्सित मनसाय साथ गरिएका यस्ता हर्कतहरु कानुनतः दण्डनीय छन् । विवादास्पद छविका विजय भण्डारीको उक्साहटमा परिचालित समूहको आक्रमणमा परी ११ जना महानगर प्रहरीहरू र केही अन्य व्यक्तिहरू समेत घाइते भएका छन् ।

टाउको, अनुहार र शरीरका विभिन्न भागहरूमा गम्भीर चोट लागेका नगरप्रहरीहरुको मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । महानगरपालिका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नियोजित रूपमा घटना घटाउन उद्धत व्यक्तिहरूको पहिचान गरी कानुन बमोजिम कडा कारबाही गर्न प्रशासन समक्ष अनुरोध गर्दछ ।

पोखरा क्षेत्रका ऐतिहासिक महत्वका चौतारीमा रहेका सयौं वर्ष पुराना वरपीपलका रुखहरू मास्ने कार्यमा समेत संलग्न मानव सेवा फाउन्डेसनले अनुमति विना वैशाखबाट गर्ने भनीएको कोटिहोम यथास्थितिमा हुन नसक्ने कुरा महानगरपालिका पुनः स्पष्ट पार्दछ । पोखरा महानगरपालिका सवै धर्म र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने दायित्व र जिम्मेवारी प्रति पूर्ण प्रतिबद्ध छ । तसर्थ, पोखरा महानगर क्षेत्रमा प्रचलित कानून विपरीतका कुनैपनि कार्यहरू सञ्चालन नगर्न नगराउन सम्बन्धित सवैमा आह्वान समेत गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस