चैत्र ८, काठमाण्डौँ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा वीरगञ्जमा आयोजना हुने ‘न्यु इयर इभ कन्सर्ट’को सम्पूर्ण तयारी पूरा भएको छ । ब्लेन्डिङ इभेन्ट्स नेपाल र परिवर्तन इभेन्ट हाउसको सहकार्यमा आयोजना हुने यो भव्य कार्यक्रम २०८१ साल चैत्र ३१ गते होटल भिस्वा वीरगञ्जमा हुनेछ ।
कार्यक्रमका प्रमुख आकर्षणमा चर्चित गायक दीपक बज्राचार्य र उनको ‘रिदम ब्याण्ड’को विशेष प्रस्तुति हुनेछ, जुन बीरगन्जमा पहिलो पटक प्रस्तुत गरिने हो।
यसका अतिरिक्त थारु गायिका अनु चौधरी, मैथिली र्यापर मनिया, काठमाडौंकी चर्चित महिला डिजे नाना र वीरगञ्जका स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा चार हजारभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रमको लागि विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। कार्यक्रमको कुल खर्च अनुमानित ३८ लाख ४० हजार रुपैयाँ रहेको छ। मुख्य प्रायोजकको रूपमा प्लाटिनम, सिल्भर र सपोर्टेड बाइका अवसरहरू खुला रहेका छन् । प्रायोजकहरूले मञ्च, स्क्रीन, होर्डिङ बोर्ड र डिजिटल मिडियामा ब्रान्ड प्रदर्शनीको फाइदा उठाउन सक्नेछन् ।
कार्यक्रमका टिकटहरू विद्यार्थीहरूको लागि ५०० रुपैयाँ, साधारण टिकट १००० रुपैयाँ र प्रिमियम टिकट २५०० रुपैयाँमा उपलब्ध हुनेछ। नयाँ वर्षको अवसरमा आकर्षक छुटको व्यवस्था पनि गरिएको छ । टिकटहरू अनलाइन वालेटमार्फत खरिद गर्न सकिनेछ, साथै वीरगञ्जका विभिन्न स्थानहरूमा टिकट काउन्टरहरू खोलिनेछन् ।
ब्लेन्डिङ इभेन्ट्स नेपालले सम्पूर्ण दर्शक, मिडिया र प्रायोजकहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्दै कार्यक्रमको सफलता र समर्थनको लागि सबैको साथको अपेक्षा गरेको छ ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।