चैत्र ११, काठमाण्डौँ । सत्तारुढ नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन् । शनिबार सम्पन्न लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनबाट चम्लागाईं ३५१ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगन कुमार थापा निकट हुन् ।
उनका प्रतिस्पर्धी विकास थापाले ८८ मत र कल्पना खड्काले १३ मत प्राप्त गरे । अध्यक्षमा पराजित विकास थापा संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षका हुन् भने कल्पना खड्का पार्टी प्रवक्ता डा. प्रकाशशरण महत नजिक छन् ।
उपाध्यक्षमा महिलातर्फ अनिता घिमिरे गैरे र खुल्लातर्फ उदयबहादुर लिम्बू निर्वाचित भए । गैरेले ३३९ मत र लिम्बूले ३३२ मत प्राप्त गरे । महामन्त्रीमा किरण कुमार पासवान र गणेशबहादुर खत्री निर्वाचित भए । पासवानले २४६ मत र खत्रीले ३४९ मत प्राप्त गरी विजयी भएका हुन् ।