अमेरिकाबाट फर्किए प्रचण्ड: भने-‘भेनेजुयलाको प्रसंग उठेन, तिब्बत र उत्तर कोरियाको मुद्दा उठ्यो’

चैत्र १४,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका उडेलगत्तै उनीविरुद्ध मेरिल्याण्डको एफबीआईमा उजुरी परेको खबरले नेपालमा ठूलै तरंग ल्यायो । नेकपा र त्यसमा पनि पूर्वमाओवादीका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा उजरीकर्ता भनिएका तिलक श्रेष्ठविरुद्ध खनिए ।

प्रचण्डका अनुसार जहाजमा हुँदा नै छोरी गंगा दाहालले यसबारे थाहा पाएकी रहिछन् । तर, उनले प्रचण्डलाई जानकारी दिइनन् ।
अमेरिकाबाट विहीबार नेपाल फर्किएका प्रचण्डले विमानस्थलको भीआइपी कक्षमा पत्रकारहरुसँग भने, ‘राजदूत र अरु साथीहरु (विमानस्थलमा) आउनुभएको थियो । मलाई त झण्डै भूमिगतरुपले बाहिर निकाल्ने कुरा गर्नुभयो । के भएछ, किन त्यसो गर्ने भनेर म आश्चर्यमा परेँ । उहाँहरुलाई लागेको रहेछ, केही घटना पो हुन्छ कि ?’

प्रचण्डका अनुसार अमेरिकास्थित नेपाली राजदूतसहितको टोलीले केही भएको भए छलेर बाहिर निकाल्ने व्यवस्थासमेत मिलाएका रहेछन् । उनले भने, ‘तर, केही भएन । खाली कन्फ्युजन जस्तो मात्र थियो ।’

प्रचण्डको टोली भ्रमण अवधिभर नेपाली दूताबासमै बसेको थियो । यसक्रममा प्रचण्डले केही भेटघाटहरु पनि गरेका थिए ।

श्रीमती सीता दाहालको उपचारपछि स्वदेश फर्किएका प्रचण्डले अमेरिकामा रहेका केही नेपालीहरुको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले अमेरिकामा बसेर आफ्नो विरोध गर्नेहरुलाई विमानस्थलबाटै जवाफ दिए । उनले नेपालमै आएर जनताको मन जितेर मन्त्री, प्रधानमन्त्री हुन आफ्ना आलोचकहरुलाई चुनौतीसमेत दिए ।

‘शायद अमेरिकामा जाने हाम्रा लिडरहरु र सबैले अनुभव गरेको हुनुपर्छ,’ प्रचण्डले अमेरिकामा रहेका कतिपय नेपालीबारे संकेत गर्दै भने, ‘केही मान्छे छन्, जो नेपालको विरोध गर्न पाउँदा, राष्ट्रपति प्रधानमन्त्री, जो कोही नेता गए पनि नकारात्मक दृष्टिकोणले हेर्ने र बदनाम गर्न पाइयो भने खुसी हुने प्रवृत्ति छ ।’

भेनेजुएला होइन, तिब्बत र उत्तर कोरियाको मुद्दा उठ्यो

भ्रमणका क्रममा प्रचण्डले अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसिया हेर्ने सहायक मन्त्री एलिस जी वेल्सलाई विदेश मन्त्रालयमै गएर भेटेका थिए ।

भेटमा एलिसले उत्तर कोरिया र तिब्बती शरणार्थीबारे चासो व्यक्त गरेको प्रचण्डले जानकारी दिए । ‘तिब्बतको मुद्दामा हामी चाहन्छौं कि नेपालले मानवअधिकारको विषयमा जसरी विगतदेखि गर्दै आएको हो, त्यसरी नै गरोस् भन्ने थियो’ प्रचण्डले अमेरिकी अधिकारुसिँगको भेटबारे जानकारी दिँदै भने, ‘उत्तर कोरियाको विषय पनि उठाउनुभयो । हाम्रा केही चासो छन्, त्यसलाई नेपालले बुझिदिए हुन्थ्यो भन्ने थियो ।’

नेकपा अध्यक्ष प्रचण्डले अगाडि थपे, ‘हिजो विवादमा भएको विषय उठ्लान् कि भन्ने तयारीमा म थिएँ तर, उठेन । मुख्यतः भेनेजुएला उठ्छ कि भन्ने लागेको थियो । उठेन र मैले भनिरहनु आवश्यक भएन ।’

आफ्नो भ्रमणका क्रममा अमेरिका सरकारले सहयोग नै गरेको नेकपा अध्यक्ष प्रचण्डले सुनाए ।

संम्बन्धित समचार

Leave a Reply