असार ६,हेटौडा । हेटौंडामा जारी काङ्ग्रेस सभापतिहरुको भेलामा जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् । भेलाको दोस्रो दिन आफ्नो धारणा राख्ने क्रममा सभापतिहरुले पार्टी सभापति देउवाको चर्को आलोचना गरेका हुन् ।
धारणा राख्ने क्रममा नुवाकोट काङग्रेसका सभापति जगदीशनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले मुखले पार्टी एकता भन्ने गरे पनि व्यवहारमा त्यस्तो नभएको भन्दै प्रजातान्त्रिक भनिएको काङ्ग्रेसमा आफ्नै नेताहरुलाई पार्टीकै फोरममा बोल्न नदिएर अधिनायकवादी चरित्र देखाएको बताए ।
उनले नेतृत्वकै कारण समग्र काङग्रेस रोगी बनेको भन्दै यहि प्रवृत्ति रहिरहे काङग्रेस समाप्त हुने चेतावनी दिए । ‘काङग्रेसले साझा नेतृत्व भन्दै आएको छ । तर, अहिले नेतृत्वले नै एउटा गुटलाई च्यापेर सबै काङग्रेसलाई पाखा लगायो, सकुनीको खेलमा काङ्ग्रेस फस्यो, सभापति ज्यू के यसैका लागि हामीले तपाइलाई जिताएका हौ ?’
केसीको प्रश्न थियो । उनले गत निर्वाचनमा पार्टीले बेहोरेको हार केन्द्रीय सभापतिले नलिने भए आफु लिन तयार रहेको भन्दै जिल्लाका पार्टी सभापतिहरुलाई भूमिकाविहिन बनाएको देउवाप्रति आक्रोश पोखे ।