पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ चैत्र १८, सोमबार (२ हप्ता अघि)
  • ३७ पटक पढिएको
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक

चैत्र १८, काठमाडौँ । समाजवादी मोर्चाको बैठक नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको छ। बैठक भर्खरै सुरू भएको हो ।
संविधान, गणतन्त्र र संघीयताविरूद्ध राजावादी शक्तिहरू चलमलाएको भन्दै यसको रक्षा र प्रवद्र्धनबारे बैठकमा छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ । गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गर्दा दुई जनाको ज्यान गएको थियो ।

प्रदर्शनका क्रममा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको प्रहरीको गोली लागि मृत्यु भएको थियो । यस्तै एक निजी घरमा लगाइएको आगोमा परेर एभिन्युजका भिडियो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । आन्दोलनकारीहरूले आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय, एकीकृत समाजवादीकै जिल्ला कार्यालय, तीनकुनमा रहेको दुईवटा निजी घर, सञ्चारगृह, कोटेश्वरमा रहेको जडिबुटी कारखानामा तोडफोड र आगजनी गरेका थिए ।

राजावादीहरूले १४ वटाभन्दा बढी सार्वजनिक सवारीसाधनमा आगजनी गरेका थिए । समाजवादी मोर्चाले यसबारे छलफल गर्ने र निर्णय गर्ने जानकारी दिएको हो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व राजालाई अब छाडा छाड्न नसकिने अभिव्यक्ति दिंदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस