सहकारीको रकम ठगी गरेको कसुरमा रवि लामिछाने गए थुनामा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ चैत्र २३, शनिबार (२ हप्ता अघि)
  • ६७ पटक पढिएको
सहकारीको रकम ठगी गरेको कसुरमा रवि लामिछाने गए थुनामा

चैत्र २३,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगी गरेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै प्रहरीले गएराति बूढानीलकण्ठको हेपाली हाइटबाट पक्राउ गरेको हो ।

सङ्गठित रूपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेका हुन् ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड रूपैयाँ धरौटी माग गरेको थियो । त्यसपछि लामिछाने साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च अदालत जानुभएको थियो । सरकारी वकिलको कार्यालयसमेत धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत गएको थियो ।

यही प्रकरणका आरोपित पूर्वडीआईजी छविलाल जोशीले समेत जिल्लाको आदेशविरुद्ध निवेदन दिएका थिए । उच्च अदालतले तीनवटै निवेदन एउटैमा राखेर सुनुवाइ गरेपछि त्यो आदेश बदर गर्नुपर्ने ठहर गरेको हो ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको छ ।

सुप्रिम सहकारीबाट ऋण प्रवाह हुँदा रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए ।

पदमा रहेको अवस्थामा उनले सहकारीबाट ऋण लिएकोबारे आफूलाई केही थाहा नभएको जिकिर गरेका थिए। तर, उच्च अदालतले उनको बयान ‘पत्यारलाग्दो नदेखिएको’ भनेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस