प्रहरको चौथो एकल गजल साँझ सम्पन्न

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ अषाढ ६, बुधबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असार ६,भक्तपुर । ‘मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई,
अँगालेर लासमाथि रुन दिन्न तिमीलाई
सारा कथा व्यथा मेरो उपहार दिएको यो
गजलैमा मन बुझाऊ सुन दिन्न तिमीलाई’

मंगलबार साँझ ढल्किँदै जाँदा युवा गजलकार विकास प्रहरको ‘चौँथो एकल गजल साँझ–२०७५’ कार्यक्रममा युवा गजलकार विकास प्रहरले भक्तपुरको साहित्यिक माहोल निकै तताउँदै थिए । गजलका पारखी, साहित्यकार, कलाकार, पत्रकारको जमघटले रात छिप्पिदै जाँदा विश्वकपको माहोललाई समेत ओझेलमा पार्दै प्रहरका गजलले सहभागीलाई मन्त्रमुग्ध बनाएको थियो ।

त्रिपुरा न्यूज साप्ताहिकले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको युवा गजलकार प्रहरले शृङ्गारिकलगायत सामाजिक विकृति विसङ्गतिलाई चिरफार गरिएका, देशप्रेमले ओतप्रोत, राजनीतिक, मानवतावादी तथा समसामयिक धाराका गजलहरुले सहभागीको मनलाई सहजै छोएको थियो ।

‘मेरै छेऊ बसिदिँदा, मुटु पनि टाल्न सक्छु,
निरङ्कुश हृदयको, तिम्रो सत्ता ढाल्न सक्छु,
मलाई सम्झी देश एक्लै, रोयो भने एकान्तमा
विकासको बाटोतर्फ, पाईला मेरै चाल्न सक्छु’

कार्यक्रममा प्रहरका एक दर्जन गजल सङ्गीतबद्ध रूपले संगीत संयोजक किरण कडेल, तबलावादक उत्पल कँडेल, गितारिष्ट सञ्जु शाही, बाँसुरीवादक उमेश पण्डित र गजल गायक राज सागरको सुमधुर स्वरको साङ्गीतिक माहोलमा दर्शकले समय बितेको पनि पत्तै पाएनन् ।

साहित्यिक जमघट तथा एकल साहित्यिक वाचन नगण्य रूपमा हुने भक्तपुरमा प्रहरको कार्यक्रममा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेका स्रष्टा एवं गजल पारखीको सहभागिता थियो ।
‘गोली लागि छेडेको यो, आज आफ्नै छाती देख्छु,
एकोहोरो शंङ्ख बज्दै, मलामाीको ताँती देख्छु
गन्यमान्य व्यक्तिद्वारा, लाशमाथि चढाएको
पहिलो पल्ट धेरैभन्दा, धेरै फूलपाती देख्छु’

प्रहरले नेपालको शैक्षिक प्रणाली र राजनीतिक अवस्थाले बेरोजगारी बढेका र युवा विदेशिएकामा चिन्ता व्यक्त गर्दै नेपालप्रतिको माया गजलमार्फत यसरी दर्शाए ः
‘उब्जाएर बस्न पनि एक धुरको पाखो छैन
खाऊँ भने जागिर साथी फरियाको नातो छैन
योग्यताको प्रमाणपत्र लत्याएर विदेशिन
मन लाग्छ तर त्यहाँ नेपालको माटो छैन’

राजनीति र युवाको विदेश मोहप्रति चोटिलो व्यङ्ग्य गर्दै प्रहरले वाचन गरेको यो गजलले निकै ताली पाएको थियो ।
‘परदेशमा डेरा सर्दा छातीभरि दुख्छ देश
बिनाकसूर जेल पर्दा छातीभरि दुख्छ देश
पराईको उक्साहटमा भाइभाइको लडाईँले
घरभित्रै भाइ मर्दा छातीभरि दुख्छ देश
कोट्याउँदै घाउ लगाउँदै छौँ मल्हम
फेरि भन्छ्यौ उल्टै भयो दुख्न अलि कम’

कार्यक्रममा अर्का युवा गजल गायक राज सागरले छ वटा गजल गाएर माहोलमा रौनक थपेका थिए । गायक सागरलाई गायनमार्फत गायिका अञ्जु श्रेष्ठले साथ दिँदा गजल साँझको माहोल तातेको थियो ।

सागरले गाएको गजल ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो, मुटु रेट्न छुरा ताक्ने नजर जाली तिम्रो’ उत्कृष्ट ठहरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस