चैत्र २९, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानुन नबनाइ छिट्टै हल गर्न सकिने बताएका छन् ।
१० दिनदेखि जारी शिक्षक आन्दोलनबारे भिडियो सन्देश दिँदै महामन्त्री थापाले उनीहरूले राखेका १५ बुँदे मागमध्ये कतिपय कानुन बनाइ मन्त्रिपरिषदले पनि घोषणा गर्न सक्ने उनले सुझाव दिएका छन् । बाँकी माग र पूर्व सहमति भएका विषयलाई विधेयकमार्फत छिटो पारित गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने उनको प्रस्ताव छ ।
‘शिक्षकले राखेका कतिपय मागका विषयलाई कानून नबनाइ हल गर्न सकिन्छ । उहाँहरूले राख्नु भएको मर्यादाक्रम, दरबन्दी मिलान, राहतको बिदा सञ्चितिजस्ता विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्न सक्छ । उहाँहरूका यी माग सम्बोधनको लागि केही स्रोतको मात्रै कुरा हो । तर यसले विश्वासको वातावरण बनाउन सकिन्छ,’ थापाले भनेका छन्, ‘केही दिनपछि संसद्को अधिवेशन प्रारम्भ हुन्छ । संसद्को मिति तय भएको सात आठ दिनमा शिक्षा विधेयक पारित हुन्छ भनेर अघि बढ्न सक्छौं । जसमा शिक्षक महासंघसँग भएको समझदारीअनुसार अगाडि बढाउन सकिन्छ ।’
वैशाखको १८ गतेभित्र विधेयक पारित हुन्छ भन्ने भरोसा गराउँदा शिक्षकले पनि मान्ने र सांसदले पनि दिनरात नभनी विधेयक टुंग्याउन काम गर्ने उनी बताउँछन् । यसका लागि प्रधानमन्त्री, मन्त्री र सम्बन्धित पक्षले अग्रसरता देखाउनु पर्ने उनको भनाइ छ । शिक्षकको मागको सम्बन्धमा लामो समय काम गर्न नसक्दा अहिलेको समस्या आएको उनले बताए ।