जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन : प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ चैत्र ३०, शनिबार (१ हप्ता अघि)
  • ६१ पटक पढिएको
जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन : प्रधानमन्त्री

चैत्र ३०, काठमाण्डौँ ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन् । नेकपा एमालेको झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजेझैं ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरुलाई जनताले नपत्याएको बताए ।

‘देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरु, आगजनी गर्नेहरु रक्सीका बोतल लुटेर भाग्नेहरुले जनताले फ्ँयाकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन। ठूला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकेको छ ।’

प्रधानमन्त्री ओलीले भने, ‘विगतमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए । तर जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौँ । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईहरु अस्थिरतावादीहरुको कुनै भ्रममा पर्नु पर्दैन ।’

प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरु अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने जनाए । उनले कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने बताए । ‘हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ । घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस