चैत १६, चिप्लेढुङ्गा । पदयात्रा व्यवसायीको सङ्गठित संस्था ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलले २०० जनालाई ‘ट्रेकिङ गाइड एण्ड पोर्टर’ तालिम प्रदान गरेको छ ।
नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लगायतका सङ्घसंस्थाको सहयोग र टानको आयोजनामा भएको १० दिने तालिमको शुक्रबार सकियो । सहभागीलाई गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रमाणपत्र वितरण गरे ।
मन्त्री लम्सालले पर्यटन विकासका लागि निजी क्षेत्र र सरकारका साझा कार्यसूचि हुनुपर्ने उल्लेख गरे । “समस्या धेरै छन् तर न्यूनीकरणका लागि सबै जुटाँै, पर्यटन विकासका लागि गुनासो हैन अब योजना लिएर आउनुस्”, मन्त्री लम्सालले भने । उनले गण्डकी प्रदेश पर्यटनको आधार भएकाले यससम्बन्धी पढाइका लागि पर्यटन विश्वविद्यालयको स्थापनाको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।
पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पथप्रदर्शक र सहयोगीबिना हिँड्दा धेरै जोखिम बढेको छ भन्दै यस्तो तालिमबाट देशमै रोजगारको सृजना हुने र पदयात्रा क्षेत्रको सुरक्षाको चुनौती घट्ने विश्वास व्यक्त गरे । पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल पर्यटनको वास्तविक समस्याको पहिचान गर्न सरकार असफल भइरहेको छ भन्दै भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रको गुनासोलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
टानका पूर्वअध्यक्ष टीकाराम सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा टानले गरेको पर्यटन प्रवर्द्धनका गतिविधिका बारेमा जानकारी गराए । सहभागी शोभासिंह भण्डारीले देशका विभिन्न क्षेत्रमा पर्यटक घुमाउने आफ्नो र आफूजस्तै साथीहरूको व्यावसायिक रहर पूरा भएको बताए ।
नाथमका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले प्रमाणपत्रले देशभित्र जुनसुकै स्थानमा गएर पनि व्यावसायिक पथप्रदर्शकको काम गर्न सकिने बताए । तालिममा १३ महिला र १८८ पुरुषको सहभागिता थियो । रासस