रसिया-युक्रेन युद्ध प्रभाव

अमेरिका-युक्रेनबीच खनिज सम्झौताको रूपरेखामा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ५, शुक्रबार (१ दिन अघि)
  • ८० पटक पढिएको
अमेरिका-युक्रेनबीच खनिज सम्झौताको रूपरेखामा हस्ताक्षर

बैशाख ५,काठमाडौँ । युक्रेनले अमेरिकासँगको खनिज सम्झौताको रूपरेखामा हस्ताक्षर भएको घोषणा गरेको छ । युक्रेनी अर्थमन्त्री युलिया स्विरीडेन्कोले आशय ज्ञापनपत्रले आर्थिक साझेदारी सम्झौताका लागि मार्गप्रशस्त गरेको बताएको बीबीसीले जनाएको छ । उनले अन्तिम सम्झौतामा युक्रेनको पुनर्निर्माणका लागि लगानी कोष पनि समावेश हुने बताए ।

अमेरिकी अधिकारीहरूले अर्को हप्ताको अन्त्यसम्ममा सम्झौता सम्पन्न हुने आशा व्यक्त गरेका खबरमा उल्लेख छ । गएको फेब्रुअरीमा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको सार्वजनिक बहसले खनिज सम्झौता वार्ता अस्थायी रूपमा अलमलमा परेको थियो ।

सम्झौताको समय र विषयवस्तुको बारेमा थप विवरणका लागि गरिएको अनुरोधको ह्वाइट हाउसले जवाफ नदिएको रोयटर्स समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीको खबरमा उल्लेख छ ।

यो युक्रेनको महत्त्वपूर्ण खनिजका साथै तेल र ग्यासमा अमेरिकाको पहुँच बढाउने सम्झौतातर्फको एक कदम हो । युक्रेनसँग खर्बौं डलर मूल्य बराबरको लिथिअम तथा टाइटानिअमसँगै उल्लेख्य मात्रामा कोइला, ग्यास, तेल तथा युरेनिअम भण्डारण छ । यस्तै विश्वमा पाइने पाँच प्रतिशत महत्त्वपूर्ण कच्चा खनिज आफूसँग भएको युक्रेनको आँकलन छ । युक्रेनका कतिपय खनिज भण्डारहरू रुसको कब्जामा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस