रैथाने बिउ हराए, किसान वर्णशङ्करमै रमाए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ६, शनिबार (१५ घण्टा अघि)
  • ४० पटक पढिएको
रैथाने बिउ हराए, किसान वर्णशङ्करमै रमाए

काठमाडौं । रैथाने बिउ आजकल हराउदै जान थालेको छ । घरको निदालभरि र ढोकामाथि किसान राख्ने बिउ अहिले हाइब्रिड आएपछि रैथाने बिउ हराउदै गएको छ । स्थानीय जातको काँक्रोको बिउ नपाएपछि बिउ खोज्दै बजार झरेका मण्डन देउपुर–९, काभ्रेपलाञ्चोकका राजनप्रसाद सापकोटा एउटा काँक्रो काट्दा गाउँभरि बास्ना फैलिने, तीन किलोसम्मको फल्ने काँक्रो अहिले लोपै भएको उनको गुनासो गरे ।

परम्परागत रूपमा आफ्नै घरमा धेरै किसिमका बिउ आफैंँले जोगाएर राख्ने र नपुग बिउ छिमेकी, आफन्त र साथीभाइकहाँबाट साटासाट गरेर लगाउने चलन हराएको सापकोटाको भनाइ छ । शहरवरपर तथा सुगम क्षेत्रका कृषकले घरमा बिउ राख्नुको सट्टा बजारबाट खरिद गरेर लगाउने चलन बढेपछि बिउ राख्ने चलन हराएको सापकोटा बताउँछन् ।

उन्नत जात तथा वर्णशङ्कर (हाइब्रिड) बिउ र प्रविधि विस्तारसँगै घरमा जोगाएर राख्ने परम्परागत बिउको संरक्षणै सङ्कटमा परेको उनले बताए । बिउ हराएकोमा दाङ तुलसीपुरका शान्ता शर्मालाई पनि पिरलो परेको छ । कालो धानको बिउ नै पाउन छाडेको र अबको पुस्ताले त्यसको अनुभव गर्न नपाउने उनको चिन्ता छ ।

गाउँबाट मानिस क्रमशः शहरमा बसाइँ सर्न थालेपछि रैथाने जातका बिउ क्रमशः लोप हुन शुरु भएको उनको अनुभव छ । सिमेन्टका घर बन्न थालेपछि पनि बिउ जोगाउन कम भएको उनले बताए ।

वरिष्ठ कृषि प्रसार अधिकृत कुलप्रसाद दवाडीले उन्नत जात र हाइब्रिड बिउको उपलब्धताले उत्पादन वृद्धिमा टेवा पुगे पनि नेपालको हकमा केही अपवादबाहेक बजारमा उपलब्ध हाइब्रिड बिउ आयातित भएकाले रैथाने जात लोप हुने अवस्थामा पुगेको बताए ।

बजारबाट बिउ खरिद गरेर लगाउने बढ्दो चलनले एकातिर कृषक बिउमा परनिर्भर बन्दै गइरहेका छन् भने अर्कोतिर रैथाने बिउका साथै बिउ छनोट र भण्डारण गर्ने परम्परागत ज्ञान, सिप र प्रविधि पनि हराएर गइरहेको उनले बताए ।

नेपाल सरकारको तथ्याङ्कले पनि बर्सेनी बिउको आयात बढिरहेको र कृषकको खेतबारीबाट रैथाने बिउ क्रमशः लोप हुँदै गएको देखाउँछ । यो क्रम नरोकिए भविष्यमा सहरी क्षेत्रमा मात्र होइन, गाउँघरका कृषकको भान्सामा पनि के पाक्छ भन्ने कुरा बजारले निर्धारण गर्ने उनले बताए ।

सरकारको तथ्याङ्कमा एक वर्षमा दुई अर्ब १८ करोड रुपियाँको बिउ आयात भएको देखिएको छ । बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले एक वर्षमा सो परिणाममा बिउ आयात हुने उल्लेख गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस