काठमाडौं । अर्को वर्ष हुने आईसीसी यू-१९ पुरुष एकदिवशीय विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीचको खेल हुँदैछ । खेल तल्लो मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
यस खेलमा विजय हुने टोली अर्को वर्ष जिमबाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । दुवै टोली समान ३ जितका साथ भिड्ने अन्तिम खेलमा नेपाल विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
जारी छनोट प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जित निकालेका थिए । अफगानिस्तानले तीनवटै खेलमा फराकिलो जित निकालेका कारण नेट रनरेटमा नेपालभन्दा अघि छ ।
अघिल्लोपटक २०२४ मा भएको यू-१९ विश्वकपमा अफगानिस्तान नेपालसँग समूह चरणमा पराजित भएर अगाडि बढ्न नसक्दा यसपटक छनोटमा तानिएको हो । सबैभन्दा बलियो टोली तथा टेस्ट राष्ट्र अफगानिस्तानसँग नै नेपालको महत्वपूर्ण खेल हुने भएको हो ।