काठमाडौं । शिक्षक महासंघले निजी विद्यालय बन्द गरिदिन आग्रह गरेको छ । महासंघले आज विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई शैक्षिक हड्ताल भएकाले विद्यालय बन्द गर्न आग्रह गरेको हो ।
महासंघले विज्ञप्तिमा भनेको छ, ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरु समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ ।’
आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ ।
महासंघले देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई आग्रहसमेत गरेको छ ।