काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसहित पक्राउ परेका सांसद र नेता रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज दिउँसो निषेधित क्षेत्रमा प्रदर्शन गरेका कारण पक्राउ परेका राप्रपाका अध्यक्ष लिङ्देन र सांसदलगायत ७ जनालाई रिहा गरिएको हो । परिसरका एसपी अपिलराज बोहोराले पक्राउ परेका सबैलाई रिहा गरिएको जानकारी दिए ।
सिंहदरबारभित्रैबाट अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले पक्राउ गरेको थियो भने बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए ।
पार्टीको काम भन्दै राप्रपा संसदीय दलको कार्यालय पुगेका लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामाले पर्चासहित चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका नेताको रिहाइको माग गर्दै सिंहदरबारमै प्रदर्शन गरेका थिए ।