मनाङमा ट्रयाक खोलिएको २२ वर्षपछि सार्वजनिक बस पुग्यो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ८, सोमबार (१४ घण्टा अघि)
  • ५५ पटक पढिएको
मनाङमा ट्रयाक खोलिएको २२ वर्षपछि सार्वजनिक बस पुग्यो

काठमाडौँ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गर्दै गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौँपछि मनाङमा बस सेवा सञ्चालन भएको बताए ।

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले मनाङवासीलाई सहज यात्रा गराउने सपना पूरा भएको बताए । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको सहजताका लागि गाउँपालिकाले नै बस सञ्चालनमा ल्याउने प्रयास गरेको बताए । गत चैत ७ गते पहिलो पटक यात्रुबाहक बस आइपुगेको मनाङमा सहज रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।

पन्ध्र वर्षअघिदेखि मोटर चल्न थालेको यो ठाउँमा हालसम्म बोलेरो, टाटासुमोजस्ता साना सवारीसाधनले मात्र यात्रु बोक्दै आएका थिए । बेसीसहरबाट चामेसम्मको ६५ किलोमिटर सडक पार गर्न अब बोलेरो जीपसँगै बस चढ्न सकिने भएको छ । भाडादर ७४० रुपैयाँ तोकिएको छ।

यस सडक अन्तर्गत बेसीशहरदेखि खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ–ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस