काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको तयारीस्वरुप भोलि ‘समिटर्स समिट’ हुँदै छ ।
जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै’ संस्थाले आयोजना गर्न लागेको उक्त समिटमा सहभागी हुन सगरमाथा आरोही एवं कतारकी राजकुमारी आस्मा अल थानी, विश्व कीर्तिमानी सगरमाथा आरोहीहरु कामीरीता शेर्पा, मिङ्मा डेभिड शेर्पा, तेम्बाछिरी शेर्पालगायतको टोली सोलुखुम्बुको थामे पुग्दैछ ।
समिटमा जलवायु परिवर्तन, पर्यटन र हिमाली जीवनशैलीका विविध पक्षबारे समूहगत छलफल हुनेछ ।
वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार र खुम्बु पासाङल्हामु गाउँपालिकासँगको सहकार्यमा उक्त कार्यक्रम गर्न लागिएको हो । यस्तै सहआयोजक संस्थामा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, टेवा, नेप्लिज युथ फर क्लाइमेट एक्सनलगायत छन् ।
‘हिमाल, जलवायु परिवर्तन र मानवताको भविष्य’ नारासहित सरकारले गर्न लागेको ‘सगरमाथा संवाद’मा विभिन्न देशका प्रतिनिधिको सहभागिता रहनेछ ।