काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ । मंगलबार सम्पन्न खेलमा दिल्ली आठ विकेटले विजयी भएको हो ।
लखनऊले दिएको १६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै १६१ रन बनाएको हो ।
दिल्लीका ओपनर अभिषेक पोरेलले ३६ बलमा पाँच चौका र एक छक्कासहित ५१ रन बनाए । करुण नैर १५ रनमा आउट हुँदा केएल राहुल ५७ र कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे ।
लखनऊका एडन माक्ररमले सर्वाधिक दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।
लखनऊका ओपनर एडनले सर्वाधिक ५२ रन बनाए । ३३ बल खेलेका उनले दुई चौका र तीन छक्का प्रहार गरे । अर्का ओपनर मिचेल मार्शले ३६ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाए । आयुष बडोनी ३६ रनमा आउट हुँदा डेभिड मिलर १४ रनमा अविजित रहे ।
दिल्लीका मुकेश कुमारले सर्वाधिक चार विकेट लिए । मिचेल स्टार्क र दुष्मन्थ चमेराको नाममा समान एक विकेट रह्यो ।
जितसँगै दोस्रो स्थानको दिल्लीले आठ खेलबाट १२ अंक पुर्याएको छ । समान खेल खेलेको गुजरात टाइटन्स १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित लखनऊको भने नौ खेलबाट १० अंक छ ।