नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख १०, बुधबार (९ घण्टा अघि)
  • ५० पटक पढिएको
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड लिमिटेडबीच विद्युत प्रसारण लाइन विस्तारका लागि संयुक्त कम्पनी स्थापना गर्न सम्झौता भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा मंगलबार भएको सम्झौतामा नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रिड लिमिटेड भारतका निर्देशक डा यतिन्द्र द्विवेदीले संयुक्त हस्ताक्षर गरेका हुन् ।

दुईदिने भ्रमणका लागि नेपाल आएका भारतीय विद्युतमन्त्री खट्टर र ऊर्जामन्त्री खड्काको उपस्थितिमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी कामबारे सम्झौता भएको हो ।

गएको माघ ३० गते भारतको नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठकले ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेको थियो ।

समझदारीअनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहने उल्लेख छ । दुवै कम्पनीमा बाँकी ४९ प्रतिशत अर्को देशको रहनेछ ।

प्रसारण लाइनमध्ये इनरुवा–न्यु पूर्णियाको लम्बाई नेपालतर्फ २५ र भारततर्फ १०० किलोमिटर रहेको छ भने दोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहेको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकनसमेत गरेका छन् । भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । सोही अवसरमा उहाँहरूले आयोजनाको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गर्नाका साथै वृक्षरोपण गरे ।

अवलोकनका क्रममा मन्त्रीद्वयले हालसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएका समस्याका बारेमा ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए । भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको उनको भनाइ थियो ।

संखुवासभाको मकालु र चिचिला गाउँपालिकाको सिमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना ९०० मेगावाट क्षमताको छ । एक खर्ब चार अर्ब लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रोपावर कम्पनीले लिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस