ह्वात्तै बढ्यो गर्मी, हिट वेभको जोखिम

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १०, बुधबार (९ घण्टा अघि)
  • ४६ पटक पढिएको
ह्वात्तै बढ्यो गर्मी, हिट वेभको जोखिम

काठमाडौं । देशका धेरैजसो जिल्लामा अहिले गर्मी ह्वात्तै बढेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव मात्र रहेकाले तापक्रम बढ्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन कुनै पनि नयाँ मौसमी प्रणाली नभएकोले पानी पर्ने सम्भावना कम रहेको छ । जसले गर्दा तापक्रम अझै बढ्ने देखिन्छ ।

बढ्दो तापक्रमले हिट वेभको जोखिम बढाएको छ । मौसम विद्हरुका अनुसार तराईमा तापक्रम ४० डिग्री पुग्नु हिट वेभ मानिन्छ भने काठमाडौंमा ३२ डिग्री नाघ्नुलाई मानिन्छ ।

हाल काठमाडौंको अधिकतम तापक्रम ३१.३३, भैरहवा र नेपालगञ्जमा ४०.४२, धनगढीमा ३९.४१, दिपायल, सिमरामा ३८.४० र जनकपुर, वीरेन्द्रनगरमा ३७.३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेले चैत, वैशाख, जेठ तातो बढ्ने महिना भएकाले वर्षा नहुञ्जेल तत्कालको बढ्दो गर्मी स्वाभाविक भएको बताइन् ।

मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म पानी पर्ने वा बादल लाग्ने सम्भावना नदेखिएकाले गर्मी थप बढ्ने बताए । तत्काल मौसम परिवर्तन भइहाल्ने अवस्था छैन, गर्मी झनै बढ्छ, उनले भने ।

विज्ञहरूले यो पटक औसतभन्दा बढी गर्मी हुने अनुमान गरेका छन् । जलवायु विज्ञ डा. उप्रेती अत्यधिक तापक्रमको पहिलो लहर भारतीय सीमा नजिक आइसकेकाले यसको प्रभावस्वरूप काठमाडौंमै पनि गर्मी ह्वात्तै बढेको बताउँछन् ।

‘भारतमा अलर्ट जारी गरिसकेको छ, भारतको मौसम विज्ञान विभागले बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम उत्तर प्रदेशलगायत धेरै ठाउँमा बढ्दो तापक्रमसँगै अत्यधिक गर्मी (हिट वेभ र तातो लहर) पहेँलो अलर्ट जारी गरिसकेको छ’, डा. उप्रेतीले भने, ‘यसको अर्थ नेपालमा सीमा जोडिएका धेरै ठाउँसम्म गर्मी बढेको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस