काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई दिउँसो ४ बजे शपथ गराउनु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई हिजो शिक्षामन्त्री नियुक्त गरेका थिए । विद्या भट्टराईले राजीनामा दिएसँगै रिक्त पदमा पन्त नियुक्त भएका हुन् ।
तीन साता लामो आन्दोलनमा रहेका शिक्षकहरुका माग पूरा गरी उनीहरुलाई कार्यस्थलमा फर्काउने प्रमुख चुनौतीका बीच उनले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै शिक्षामन्त्री पन्तले शिक्षकको माग वार्ताबाट समाधान गर्ने बताए । उनले आफू भर्खर मन्त्रालय आएकाले सबै जानकारी लिएर समाधान गर्ने बताए ।
पहिलो निर्णय मन्त्रालयको कार्यविधि तयार गर्न समिति गठन गरेका पन्तले अब बोल्ने होइन काम गर्ने जिम्मेवारीमा आएको बताए । मन्त्रालयको कार्यविधि तयार समितिलाई १५ दिनको समय दिइएको छ ।