काठमाडौं । २७ दिनदेखि आन्दोलनरत शिक्षकहरुले शैक्षिक आन्दोलन थप चर्काउने भएका छन् । आइतबार भएको झडपपछि नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने भन्दै आन्दोलनलाई अझै शसक्त पार्ने बताएको हो ।
संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् ।
उनले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक/कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक/कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’
आइतबार शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको थियो । शिक्षकहरुले निषेधित क्षेत्र तोडन् खोज्दा प्रहरीले पानीको फोहोराका साथै लाठीचार्ज भएको थियो । झडपमा केही शिक्षकहरु घाइते भएका थिए भने पानीको फोहोरा लागेर पत्रकार सविना कार्कीको आँखामा चोट लागेको थियो ।
यता शिक्षक र सरकार दुवैले सर्वोच्चको आदेशलाई वेवास्था गरेका छन् । गत बिहीबार सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र कार्यस्थलमा फर्कने वातावरण मिलाउन सरकारका नाममा आदेश दिएको थियो । अदालतले दिएको समयसिमा सकिएको छ । तर सरकार र शिक्षक आदेश कार्यान्वयनमा उदासिन देखिएका छन् ।
गत चैत्र २० गतेदेखि शिक्षकहरु नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षकहरुको आन्दोलनले नयाँ भर्ना अभियान, कक्षा १२ को परिक्षा तथा पठनपाठन प्रभावित भएको छ ।