बैशाख १५, काठमाडौं । अवैध वित्तीय कारोबारमा संलग्न ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार एक सय रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा उनीहरूको संलग्नता रहेको खुल्न आएको सीआईबीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह, सोही ठाउँका दीपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका निरोजकुमार महतो, सोही जिल्लाका अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, सञ्जिवकुमार महतो छन् ।
यसैगरी पर्साका प्रदीपकुमार साह, नवलसरासीका राजकमल लोनिया, भीमकुमार गुरुङ, सप्तरीका रामविलास साह तेली, ममता कुमारी, पर्साका बिकर्णजंग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जका सलमा खातुन, सप्तरीकी सुशीलाकुमार साहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरीका शम्भु मेहता छन् ।
उनीहरुले अवैध कारोबार बापत प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्नका लागि ‘मनि मूल’हरूलाई परिचालन गरी ठूलो परिमाणमा नगदै रकम खातामा प्लेसमेन्ट गर्ने गरेको प्रहरीले जनाएको छ ।
यस्तै विभिन्न रेमिटेन्स भुक्तानी गर्न अनुमती लिएका मनि ट्रान्सफर प्रालिहरूले उक्त डिजिटल वालेट कम्पनीहरूमार्फत ई–मनी बनाई सो रकमलाई रेमिटेन्स बापत भुक्तानी पाउनुपर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी रेमिटेन्स बापतको रकम हिसाब मिलान गरेको प्रहरीले जनाएको छ ।