बैशाख, १६ तनहुँ । आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको हो ।
समितिका अध्यक्ष कृष्णमान तामाङले काठमाडौंस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा सोमबारदेखि अध्ययन सुरु गरिएको बताए । जिल्लाकै उच्च स्थान (समुन्द्री सतहबाट २,१३४ मिटर) मा अवस्थित पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेल सञ्चालन गर्न सकिए प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बन्ने उनको भनाइ छ ।
छिम्केश्वरी माई मन्दिरको दर्शनका लागि आउने अशक्त, अपाङ्गता, वृद्धवृद्धालाई लक्षित गरी ठूल्ढुङ्गाबाट मन्दिरसम्म छ सय मिटर दूरीको मोनोरेल सञ्चालन गर्न अहिले नापजाँचको काम सुरु गरिएका तामाङले बताए । उनले लागतसहितको प्रतिवेदन एक हप्ताभित्र आइपुगेपछि थप प्रक्रिया अगाडि बढाइने बताए ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले छिम्केश्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताए । गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकासको योजना अगाडि बढाएको चुमानको भनाइ छ ।
छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । विशेषगरी त्यहाँ फागुपूर्णिमा, वैशाख १ गतेको नयाँ वर्षलगायत बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ ।