असार ७,पश्चिम नवलपरासी । यहाँको एक सामुदायिक विद्यालयमा प्रधानाध्यापक र विद्यालय संचालक बीचको विवादका कारण विगत दुई महिनादेखि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
बर्दघाट नगरपालिका वडा नं १० मा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, अभिवाकले संयुक्तरुपमा प्रधानाध्यापक सरस्वती श्रेष्ठको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वैशाख २ गते जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेका थिए ।
विद्यालय सञ्चालक समतिको निर्णय नमान्ने भन्दै आफूले जिम्मेवारी नछाड्ने प्रअ श्रेष्ठले अडान लिनुभएकाले विद्यार्थीले नै उहाँको बिरुद्धमा तालाबन्दी गरेपछि पठनपाठन बन्द भएको हो । शिक्षक, सञ्चालक समिति ,शिक्षक अभिभावक समितिले निलम्वित प्रअ श्रेष्ठलाई कुनै पनि हालतमा नस्वीकार्ने र प्रअ श्रेष्ठले पनि नछाड्ने अडान लिँदा समस्या जटिल बन्दै गएको छ ।
सञ्चालक समितिको निर्णयविरुद्ध प्रअ श्रेष्ठले उच्च अदालत दाङमा रिट दायर गरेपछि अदालतले तत्कालाका लागि यथास्थितिमा नै काम गर्न अन्तरिम आदेश दिएको छ । “अदालतमा मुद्दा विचाराधीन भएको भन्दै जे गर्छ अदालतले गर्छ, विभिन्न बहाना बनाएर मलाइ हटाउने मात्र प्रयास भएको हो”, प्रअ श्रेष्ठको भनाइ छ ।