पोषणमा करोडौं खर्च, तर कुपोषण उस्तै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र २२, शुक्रबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

चैत २२, काठमाडौँ । सरकारले बालबालिकाको स्वास्थ्यलाई केन्द्रित गरी पोषणका नाममा वार्षिक करोडौं रुपैयाँ खर्चँदै आए पनि कुपोषणको अवस्था झन् भयावह बन्दै गएको छ।

पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा कुपोषणको अवस्था भयावह बन्दै गएको हो । यसो त पहाडी तथा हिमाली क्षेत्रका कैयौं बालबालिका पनि कुपोषणले ग्रसित रहेको पोषणविद्हरूको भनाइ छ। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

सरकारी अधिकारीहरूले भने तुलनात्मक रूपमा कुपोषणको दर घट्दै गएको दाबी गरेका छन् । तर, कुपोषण घट्ने दरमा सन्तोषजनक प्रगति हुन नसकेको उनीहरूले स्विकारेका छन्।

सरकारले चालू आर्थिक वर्ष २०७५/७६ मा कुपोषण निवारणका लागि ६० करोड रुपैयाँ बजेट छुट्याएको छ । पछिल्लो तथ्यांकअनुसार २ लाख ६० हजार बालबालिकामा कुपोषण देखिएको छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकअनुसार सन् २००१ मा पाँच वर्षमुनिको बच्चामा अधिक तौल शून्य दशमलव ६ प्रतिशत थियो भने अहिले बढेर सन् २०१६ मा १ दशमलव ५ प्रतिशत पुगेको छ । तर पाँच वर्ष मुनीका ३६ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएको छ।

यस्तै, १० प्रतिशतमा ख्याउटेपना, २७ प्रतिशतमा कम तौल, ५१ प्रतिशत रक्त अल्पताबाट ग्रसित रहेको अध्ययन सर्वेक्षणले देखाएको छ।

ख्याउटेपना भने सन् २००६ मा १३ प्रतिशत थियो तर घटेर सन् २०१६ मा १० प्रतिशतमा झरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पुरुषको उचाइ कम्तीमा पाँच फिट सात इन्च र महिलाको उचाइ पाँच फिट तीन इन्च हुनुपर्ने प्रावधान छ । सो उचाइ पुगेन भने दीर्घ पोषणअन्तर्गत पुड्कोपन भएको मानिन्छ।

कुपोषण निवारणका लागि २ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने परिवार कल्याण महाशाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुलीले बताए ।उनले भने, ‘कुपोषण हुन नदिन यससम्बन्धी जनचेतना जगाउन आवश्यक छ । पोषणको मात्रा घटी वा बढी हुनु भनेकै कुपोषण हो।’

६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरिएको पराजुलीले बताए । ‘पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ। नापले रातो, पहेंलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेंलोेले मध्यम र हरियोले सामान्य अवस्था देखाउँछ,’ पोषण शाखा प्रमुख पराजुलीले भने।

आमाको दूधले रोक्छ कुपोषण
जन्मेको दिनदेखि ६ महिनासम्म आमाको दूध मात्रै खुवाउन सके कुपोषणको मात्रा घट्ने पोषणविद्हरू बताउँछन् । अहिले नेपालमा पूर्णस्तनपान गराउने महिला ५६ प्रतिशत मात्रै छन्।

तर, अहिले आमाहरूले जन्मेको ६ महिनासम्म आफ्नै दूध नखुवाई अन्य पाउडर दूध प्रयोग गर्ने गरेका छन् । जसका कारण बालबालिकामा कुपोषण देखिने गरेको छ।

अधिकांश आमाले निप्पलको प्रयोग गरी पाउडर दूध खुवाउँदा बच्चामा कुपोषणको मात्रा देखिने गरेको पोषणविद्ले बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस