चैत २२, वीरगञ्ज । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले हावाहुरी प्रभावितका लागि छिटो भन्दा छिटो घर बनाउने बताएका छन् । उनले घर निर्माणका सन्दर्भमा संघीय सरकारसँग समेत कुरा भइसकेको बताउँदै घर प्रदेश सरकारले नै बनाउने दावी गरे ।
एमबी केडिया सेवा ट्रष्टको तर्फबाट हावाहुरी प्रभावितका लागि प्रदान गरिएको ११ लाख आर्थिक सहयोग बुझ्दै उनले सेना मार्फत प्रभावितको घर बनाउने सहमति भएको जानकारी दिए ।
‘प्राकृतिक विपदलाई हामीले रोक्न सक्दैनौं, हामीले सक्ने भनेको जो पीडित छन्, जो दुःखी छन्, उनीहरुको चोटमा मल्हम लगाउने हो । जुन हामीले गर्दै पनि आएका छौं,’ उनले भने ।
‘घर निर्माणका सम्बन्धमा प्रधानमन्त्रीसँग मेरो कुरा भएको छ । प्रधानमन्त्रीले सेनासँग गराउँदा बेटर हुन्छ भन्नुभएको छ । अन्य प्रदेश सरकारले पनि एक/एक करोड दिन्छु भनेका छन् । मुख्य मन्त्री राहत कोषमा जम्मा भएको रकम सेनालाई दिन्छौं, उनीहरुले अब घर बनाउँछन्’ मुख्यमन्त्री राउतले बताए ।
धेरै संघसंस्था, उद्योगीहरु ठूलो परिमाणमा सहयोग गर्न तयार रहेको बताउँदै उनले सबै मिल्दा छिटो भन्दा छिटो घरबार बिहीन बनेका हावाहुरी प्रभावितको घर बन्ने बताए ।
सहयोग रकम हस्तान्तरण गर्दै केडिया आँखा तथा दाँत अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवं केडिया सेवा ट्रष्टका अध्यक्ष हिरालाल केडियाले विपदमा परेकालाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । गत आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो भने झण्डै २ हजार घरधुरी घर बिहीन बनेका छन् ।