चैत्र २८,काठमाडौँ । काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि अब कारवाही हुने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो ।
काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा चालक र परिचालकको कर्तब्य तोकिएको छ । ऐनको दफा १२ मा उल्लेखित चालकको कर्तब्यहरुमध्ये बुँदा ‘घ’ मा जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने चालकमाथि कारवाहीको व्यवस्था गरिएको छ ।
यो कसुरमा चालकमाथि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्मको जरिवाना हुने ऐनमा उल्लेख छ । यस्तै निर्धारित बाहेकका स्थानमा सवारी साधन रोक्ने, यात्रुसँग अशिष्ट भाषामा कुरा गर्ने र निर्धारित पोशाक नलगाई सवारी साधन चलाउने चालकमाथि पनि सोही जरिवाना हुनेछ ।
बस स्टपमा निर्धारित समय भन्दा बढी समय सवारी साधन रोक्ने, अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउने चालकमाथि पनि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय जरिवाना गर्ने व्यवस्था गरिएको छ ।
यो ऐन काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको हकमा लागू गर्न लागेको हो । प्रमाणीकरण भई एक महिनाभित्र ऐन कार्यान्वयनमा आउने महानगरपालिकाले जनाएको छ ।