चैत २९, काठमाडौँ । आउँदो वैशाख २ गते मध्यपुरथिमि नगरपालिका–८, बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा यस वर्ष पनि स्थानीय ४७ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने बताएका छन् ।
१७ वर्षदेखि एम्बुलेन्स चालकका रुपमा काम गर्दै आएका नेपाल कोरिया मैत्री अस्पतालका एम्बुलेन्स चालक वागश्रेष्ठले विहिवार पत्रकार सम्मेलनको आयोजना गरी बोडेको वर्षौंदेखिको परम्परालाई निरन्तरता दिन यस वर्ष पनि आफूले जिब्रो छेड्ने भएका बताएका हुन् ।
यसअघि २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको उहाँले आमाको निधनपछि बोडेको जुजुभाइ बाँसश्रेष्ठले ०६५ देखि ०७२ सालसम्म जिब्रो छेड्नु भयो भने गत वर्ष पुनः जिब्रो छेड्नु भएका बुद्धकृष्णले यस वर्ष सातौ पटक जिब्रो छेड्ने भएका हुन् ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर २ गते मध्यान्हमा कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले हजारौँ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।
जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।
यस वर्ष पनि आफूले जिब्रो छेड्ने बताउँदै उनले भन, ‘विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेको थियो, मैले त्यही वर्ष मैले जिब्रो छेडेँ, मेरो रोग निको भयो, त्यसपछि रोजगारीका लागि कोरिया गएँ, उताबाट फर्किएपछि निरन्तर कोरिया नेपाल मैत्री अस्पताल ठिमीको अस्पतालमा एम्बुलेन्स चलाइरहेको छु, परिवार पनि धेरै राम्रो भएर आयो, अहिले भगवानप्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि सातौँ पटक जिब्रो छेड्ने निर्णय गरेको हुँ ।’
२०६२ साल अगाडि उनकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर जिब्रो छेडेका थिए ।