बैशाख ३,खोटाङ । काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् ।
चालक र सहचालकसहित १५ यात्रु सवार ना४ख ७४११ नंको बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।
दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन । बस सडकबाट चिप्लिएर १५–२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए ।
सहचालक ओत हाल्न ओर्लिकाले दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ ।